तनहुँ, जेठ १९ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गर्दै स्वर्गीय बीमित दिनेश बहादुर भुजेल थापाको बीमा बापतको मृत्यु दाबी रकम रु. १२ लाख ३४ हजार उहाँका हकवाला भिम बहादुर घर्तीलाई हस्तान्तरण गरेको छ।
कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, दुलेगौंडा शाखा प्रमुख सुनील तिमिल्सिना, अभिकर्ता, शुभेच्छुक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख पौडेलले प्राकृतिक विपत्ति, सडक दुर्घटना, स्वास्थ्य जोखिम तथा आर्थिक अनिश्चितता बढिरहेका कारण बीमा आजको आवश्यकता बनेको बताउनुभयो। उहाँले बीमाले व्यक्ति, परिवार, व्यवसाय तथा समग्र अर्थतन्त्रलाई सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै भविष्य सुरक्षित गर्न प्रत्येक व्यक्तिले आफ्नो क्षमता र आवश्यकताअनुसार बीमा गर्नुपर्नेमा जोड दिनुभयो।
दुलेगौंडा शाखा प्रमुख तिमिल्सिनाले कम्पनीले बीमित तथा उनीहरूको परिवारप्रति उत्तरदायी रहँदै छिटो, सरल र प्रभावकारी रूपमा दाबी भुक्तानी सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले जीवन बीमालाई बचत, सुरक्षा र भविष्यप्रतिको जिम्मेवारीसँग जोडिएको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
स्वर्गीय दिनेश बहादुर भुजेल थापाले बीमा योजनाको चार किस्ता मात्र भुक्तानी गरेको अवस्थामा असामयिक निधन भए पनि कम्पनीले सम्झौताअनुसार पूर्ण मृत्यु दाबी रकम भुक्तानी गरेको जनाएको छ। साथै, उहाँले DSA (Double Sum Assured) सुविधा सहितको बीमा योजना लिएको हुँदा बीमा अवधिपछि थप रु. १० लाख प्राप्त हुने व्यवस्था रहेको जानकारी समेत दिइएको थियो।
कार्यक्रममा सहभागीहरूले जीवन बीमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने र विपत्तिको समयमा भरपर्दो आर्थिक सहारा प्रदान गर्ने धारणा व्यक्त गरेका थिए। कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा तथा द्रुत दाबी भुक्तानीमार्फत ग्राहकहरूको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।



