दमौली, तनहुँ । तनहुँका प्रतिष्ठित शारीरिक सुगठन (जिम) व्यवसायी तथा प्रशिक्षक महेश कुमार श्रेष्ठ गण्डकी प्रदेश शारीरिक सुगठन संघको महासचिव पदमा निर्वाचित भएका छन्।
पोखरामा शनिबार सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट व्यास नगरपालिका–३, दमौलीस्थित मसल्स हाउस व्यायामशालाका सञ्चालक समेत रहेका श्रेष्ठ सर्वसम्मत रूपमा महासचिव पदमा चयन भएका हुन्। संघको महत्वपूर्ण जिम्मेवारी मानिने उक्त पदमा श्रेष्ठ निर्वाचित भएसँगै तनहुँको खेलकुद क्षेत्र, विशेषगरी शारीरिक सुगठन खेलको विकासमा नयाँ उत्साह थपिएको छ।
नवनिर्वाचित कार्यसमितिमा तनहुँकै अर्का युवा शिशिर थापा मगर कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। प्रदेशस्तरीय संघको दुई महत्वपूर्ण पदमा तनहुँका प्रतिनिधि चयन भएपछि जिल्लामा शारीरिक सुगठन खेलको प्रवर्द्धन तथा व्यवस्थापनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै महासचिव श्रेष्ठले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने सम्पूर्ण प्रतिनिधि तथा खेलप्रेमीप्रति आभार व्यक्त गरे। उनले शारीरिक सुगठनलाई केवल फेसनका रूपमा नभई स्वास्थ्य, अनुशासन र व्यवसायसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित गर्न योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
श्रेष्ठले गण्डकी प्रदेशमा शारीरिक सुगठन (बडीबिल्डिङ) खेलप्रति युवाहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताउँदै खेलाडी तथा जिम व्यवसायीहरूले भोगिरहेका विभिन्न चुनौतीहरूको समाधानमा संघले विशेष ध्यान दिने बताए। उनले प्रदेशभरिका खेलाडीहरूको वृत्ति विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर विस्तार तथा जिम व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आफू केन्द्रित रहने धारणा व्यक्त गरे।
उनको निर्वाचनसँगै गण्डकी प्रदेशमा शारीरिक सुगठन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।



