तनहुँको दमौलीस्थित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपालको सभाहलमा नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस: विचार, संघर्ष र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलले अवधारणा पत्र प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, विचारधारा, संघर्षको यात्रा र भविष्यका चुनौती तथा सम्भावनाबारे धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल पुनर्संगठित गर्दै जनआकांक्षासँग जोड्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा पूर्वमन्त्री हरिबहादुर चुमान, पूर्व पोलिटब्युरो सदस्य टुकराज सिग्देल, नेता प्रतापलाल श्रेष्ठ, पूर्वमन्त्री आशा कोइराला, केन्द्रीय सदस्य राजेन्द्र केसरी न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व वास्तोला, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी, एमाले तनहुँ अध्यक्ष हरिराज कँडेल, नेकपा तनहुँ अध्यक्ष सूर्यबहादुर गौली, नेकपा मशालका नेता पुष्पलाल श्रेष्ठ, सल्लाहकार संयोजक श्रीराम कार्की तथा मोहनसिंह आलेलगायतले धारणा राख्नुभएको थियो।

वक्ताहरूले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, वैचारिक एकता, लोकतान्त्रिक अभ्यास, समकालीन चुनौती र भावी दिशाबारे बहस गर्दै राजनीतिक संस्कार, सहकार्य र जनमुखी राजनीति सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिष्ठानकी उपाध्यक्ष मनुमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सृजना सिग्देल र स्वागत सचिव नेत्र रानाभाटले गर्नुभएको थियो। अन्तरक्रियामा रमेशप्रसाद आचार्य, गोपाल सुर्खाली र शिव सदाशंकरले जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमले ७७औँ स्थापना दिवसलाई स्मरण गर्दै विचार, संघर्ष र भविष्यबारे सार्थक बहस सिर्जना गरेको आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।