काठमाडौं — गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा उठेका प्रश्न र टिप्पणीलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा पद त्याग गरेको घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका छन्। चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र जवाफदेही हुनुपर्ने बताएका छन्।
‘पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठुलो हो,’ उनले उल्लेख गरेका छन्। जेनजी आन्दोलनले सुशासन र सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले सरकारमाथि प्रश्न उठे त्यसको जवाफ नैतिकता नै हुनुपर्ने बताएका छन्।
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।
राजीनामासँगै गुरुङले सञ्चारकर्मीमाथि पनि टिप्पणी गर्दै केही मिडियाकर्मीको ‘स्वीट शेयर’ बारे पनि बिस्तारै खुल्ने संकेत गरेका छन्।
उनले आम नेपाली, विशेषगरी युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गर्दै परिवर्तनका लागि नैतिक साहस आवश्यक रहेको बताएका छन्।



