तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित पृथ्वीराजमार्गमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मिति २०८३ वैशाख ७ गते करिब साँझ ५:०० बजे बा.प्र.०२-००६प २२८३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चालकसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि लक्ष्मी सिटी अस्पताल, डुम्रे लगिएको थियो।
दुर्घटनामा घाइते पैदल यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक सामान्य उपचारपछि डिस्चार्ज भई प्रहरी नियन्त्रणमा रहेका छन्।
मोटरसाइकल पछाडि सवार घाइते महिलालाई थप उपचारका लागि प्रदेश अस्पताल रिफर गरिएकोमा साँझ ६:२० बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



