आर्थिक वर्ष २०८१/०८२ मा प्रकाशन भएका समाचार तथा सन्देश मार्फत आम नागरिकसम्म सत्य तथ्य सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा योगदान दिएको मूल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ तनहुँका पूर्व उपाध्यक्ष तथा प्रहार अनलाइन मिडियाका सम्पादक नहर्कीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो।
दमौलीमा आयोजित विशेष समारोहमा नगर प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र उपप्रमुख इन्दिरा दरै लगायतले संयुक्त रूपमा प्रमाणपत्र र दोसल्ला ओढाएर नहर्कीलाई सम्मान गरेका थिए।
विगत दुई दशकदेखि दमौलीमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका नहर्कीले स्थानीय मुद्दा, विकास निर्माण तथा जनसरोकारका विषयहरूलाई निरन्तर उठाउँदै आएका छन्।
कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले स्थानीय तहको सुशासन, पारदर्शिता र विकासका गतिविधि जनतासम्म पुर्याउन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। प्रमुख प्रशासकीय अधिकृत लम्सालले निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशामा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पुरस्कृत नहर्कीले नगरपालिकाबाट प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा निरन्तर लागिरहने प्रतिबद्धता जनाए।



