तनहुँ, चैत १७ — कर्मचारी मिलन केन्द्र तनहुँ र आधिकारिक ट्रेड यूनियन तनहुँको आयोजनामा राष्ट्रसेवक कर्मचारीका लागि नि:शुल्क योग तथा तनाव व्यवस्थापन शिविर आजदेखि तनहुँको सदरमुकाम दमौलीमा सुरु भएको छ।

पतञ्जली योग समिति तनहुँको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त शिविर चैत २६ गतेसम्म चल्नेछ। शिविरको उद्घाटन जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले संयुक्त रूपमा गरेका हुन्।

शिविर तनहुँ उद्योग वाणिज्य संघमा सञ्चालन भइरहेको छ। शिविरमा पतञ्जली योग समिति तनहुँका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले योग प्रशिक्षण प्रदान गरिरहेका छन्। कार्यक्रममा दमौलीस्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।

शिविरमार्फत कर्मचारीहरूको मानसिक तनाव न्यूनीकरण, शारीरिक स्वास्थ्य सुधार तथा कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।