तनहुँ, चैत १६ — नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा छ जना पत्रकार सम्मानित भएका छन्। नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले दमौलीमा आयोजना गरेको कार्यक्रममा विभिन्न पत्रकारिता पुरस्कार मार्फत सक्रिय पत्रकारहरूलाई पुरस्कृत गरिएको हो।
रणबहादुर गुरुङद्वारा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेललाई प्रदान गरिएकोछ। भाग्यशाली ढुङ्गानाद्वारा स्थापित ‘टीकानिधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार’ पूर्व अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ।

त्यस्तै, मुक्तिनाथ खनालद्वारा स्थापित ‘भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार’ शाखाका सल्लाहकार नारायण खड्कालाई प्रदान गरिएको छ। प्रदीप काफ्लेद्वारा स्थापित ‘पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार’ पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेललाई प्रदान गरिएको छ।
उत्तम र सुमन भट्टराईद्वारा स्थापित ‘हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ सङ्घीय परिषद् सदस्य राजकुमार श्रेष्ठ विविलाई प्रदान गरिएको छ भने वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित ‘चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार’ पूर्व सहसचिव मिला दरैलाई प्रदान गरिएको छ।
महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटन लगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्दै आएको छ।‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’को राशी पाँच हजार रुपैयाँ रहेको छ भने अन्य पुरस्कारको राशी जनही दश हजार रुपैयाँ रहेकोछ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतले पुरस्कृत व्यक्तिहरूलाई सम्मान गरेका थिए।
सो अवसरमा नगरप्रमुख न्यौपानेले तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्दै पछिल्लो समय देखिएका विकृतिप्रति सचेत रहनु पर्ने बताए। प्रमुख जिल्ला अधिकारी तिवारीले विकास र सुशासनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सत्य र सन्तुलित समाचार सम्प्रेषणमा जोड दिए।
वरिष्ठ अधिवक्ता तथा महासङ्घका संस्थापक कमलामोहन वाग्लेले पत्रकारिता स्वच्छ, निष्पक्ष र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै लोकतन्त्रको सुदृढीकरणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए।
शाखा अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रताप रानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव कृष्ण न्यौपानेले गरेका थिए।



