दमौली, चैत १२

द्वन्द्व पीडित राष्ट्रिय महिला (एकल महिला) सञ्जाल तनहुँको आयोजनामा दिने अचार बनाउने तालिम आइतबारदेखि सुरु भई बिहीबार सम्पन्न भएको छ। उक्त तालिम व्यास नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको हो।

चैत गतेदेखि चैत १२ गतेसम्म सञ्चालन भएको तालिम क्षेत्री समाजको भवनमा आयोजना गरिएको थियो। तालिममा ३० जना द्वन्द्वपीडित एकल महिलाहरूको सहभागिता रहेको थियो।

सञ्जालकी अध्यक्ष सिता कैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथिकारूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले द्वन्द्व पीडित एकल महिलाहरूले भोग्दै आएका पारिवारिक तथा सामाजिक समस्याहरू अझै पूर्णरूपमा सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनीहरूको अधिकार, न्याय जीविको पार्जनका लागि नगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, तालिमपछि उत्पादनमूलक व्यवसाय सुरु गर्नु पर्नेमा जोड दिनुभयो। नगरपालिकाले सिलाइबुनाइ, तरकारी खेती, ब्युटी पार्लर, मादल बजाउने लगायतका विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी पनि गराउनुभयो।

कार्यक्रममा व्यास का वडा अध्यक्ष रमेशचन्द्र हडेखले, क्षेत्री समाज तनहुँका उपाध्यक्ष प्रेमबहादुर राउत, प्रशिक्षक गायत्री नेपाली, पत्रकार मदन तिमल्सेना लगायतको उपस्थिति रहेको थियो। वडा अध्यक्ष हडेखले यस्ता तालिम अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै व्यास मा पनि अचार बनाउने तालिम लिन इच्छुक महिला दिदीबहिनीहरूलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो।

उपाध्यक्ष राउतले यस्ता तालिमहरूले महिलाहरूको मनोबल बढाउनुका साथै आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।

तालिममा मासु, माछा, मुला, खुर्सानी, च्याउ, बन्दाकोपी, गाजर, आँप लगायत गरी २८ प्रकारका अचार बनाउन सिकाइएको थियो। कार्यक्रम सञ्चालन सञ्जालकी सचिव मधु अधिकारी खड्काले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।