तनहुँ
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) दमौली शाखाले आगामी श्रावण ३१ गते शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा महामहोत्सव आयोजना गर्ने भएको छ।
व्यास नगरपालिका–३ देउरालीस्थित रेडक्रस भवनमा रहेको संघले तनहुँ उद्योग वाणिज्य संघको भवनमा दिउँसो ११ बजेदेखि राति १२ बजेसम्म कार्यक्रम गर्ने अध्यक्ष रविलाल थापाले जानकारी दिए।महामहोत्सवमा हरिनाम संकीर्तन, राधाकृष्णको रथयात्रा, कृष्णकथा, कृष्णलीला, कृष्णझुला, अभिषेक, दीपदान र प्रसाद वितरणजस्ता कार्यक्रम रहने कोषाध्यक्ष प्रमोद न्यौपानेले बताए।

वेदव्यास र पराशर क्षेत्रको प्रचार–प्रसार तथा आध्यात्मिक जागरणका उद्देश्यले आयोजना हुने यस कार्यक्रममा भक्तजनलाई सहभागीहुन आह्वान गरिएको सदस्य लक्ष्मी गुरुङले जानकारी दिइन्।
गत वर्षजस्तै यस वर्ष पनि कार्यक्रमले दमौली र आसपासका क्षेत्रमा आध्यात्मिक वातावरण सृजना गर्ने अपेक्षा इस्कोनका सचिव निरन्तर प्रभुले व्यक्त गरे।


