– माधब प्रसाद अधिकारी
कास्कीको मादी गाउँपालिकामा पर्ने सुन्दर गाउँ गोर्जेको माटो, त्यहाँका उकाली-ओराली र बाल्यकालका ती स्वर्णिम स्मृतिहरूलाई समेटेर तयार पारिएको संस्मरण:
स्मृतिमा गोर्जे: अगेनाको धुवाँ र बाल्यकालका पदचापहरू
समयको गतिसँगै गाउँका पाटाहरू फेरिए होलान्, तर स्मृतिमा कोरिएको गोर्जे गाउँको त्यो तस्बिर आज पनि उत्तिकै गाढा र जीवन्त छ। मातापिताका पाँच सन्तानमध्ये हामी पाँचै भाइबहिनी आज आ-आफ्नो कर्मक्षेत्रमा व्यस्त छौँ। तर, जब गाउँको संझना आउँछ, मन उडेर त्यही माटोको भान्सा, अगेनाको डिल र कुवापानी खानेपानीको पँधेरामा पुगिहाल्छ।
पँधेराको पानी र अगेनाको त्यो न्यानो आगो
उहिलेका साँझहरू कति पवित्र र शान्त हुन्थे! बेलुकीको खाना खाइसकेपछि भान्साको जुठो भुइँलाई मुठीभरिको ताजा गोबर ओल्ट्याइपल्ट्याइ चोख्याउने (लोटाउने) आमाको त्यो ममतामयी हात अझै आँखा अगाडि घुम्छ। गाईवस्तु पाल्न छाडेसँगै कंक्रिटका घरहरूमा यो चलन हराए पनि गोर्जेका केही माटाका घरहरूमा यो संस्कार अझै जीवितै छ।
रात परेपछि आमाले अगेनाको अगुल्टोलाई खरानीले छोपेर सुत्न जानुहुन्थ्यो। बिहानै कुखुराको भाले नबास्दै, चिबेचराको पहिलो गितसँगै आमा ब्युँझनुहुन्थ्यो। गाउँमा दुःख थियो, स्रोत साना थिए, तर मनहरू ठूला थिए। पँधेराबाट डोकोमा गाग्रो, गाग्रोभित्र पानी, अनि नाम्लोको सहारामा घर आइपुग्दा निधारमा पसिनाका थोपाहरू टल्किन्थे। चौकोसको ठाडो भाग दुई हातले समातेर, संघारमा बिस्तारै डोको बिसाउँदै, पराल र खरले बाटेको बिँडा माथि गाग्रो गग्रेटोमा मिलाएर राख्दा एउटा सुन्दर सन्तुलन देखिन्थ्यो।
उज्यालो नहुँदै अगेनाको खरानी खोतलेर रातभरि लुकेको आगोलाई घुस्यान (परालको गुजुल्टो) मा जोडेर आमाले फु..फु.. गर्दा निस्कने त्यो पहिलो ज्वालाले घर मात्र होइन, हाम्रो जीवन नै उज्यालो बनाउँथ्यो। साना झिक्रा हुँदै ठूला दाउरा बलेपछि कुँडो (जसलाई हामी ‘दाना’ भन्थ्यौँ) पाक्न थाल्थ्यो। अनि मात्र पिताजी निम वा सजिवनको दतिउनले दाँत माझ्दै पित्तलको बाल्टिन बोकेर पँधेरा जानुहुन्थ्यो र समीको बोटमुनि बसेर केही बेर जप ध्यान गर्नुहुन्थ्यो। हजुरबालाई त मैले देख्न पाइनँ, तर नपढे पनि अनेकौँ मन्त्र कण्ठ भएकी हजुरआमाले बिहानै गर्ने त्यो पूजापाठको मर्म र संस्कार आज आएर मात्र मैले बुझ्दै छु।
साउने संक्रान्ति र गोठालो जाँदाका दिनहरू
साउन १ गते आउने साउने संक्रान्तिको उमङ्ग नै बेग्लै हुन्थ्यो। ‘लुतो फाल्ने’ पर्वका लागि साथीभाइबीच लेते झार, सरो, बेतलौरी, सिरु, सिउडी, कुरिलो र केराको पात संकलन गर्ने प्रतिस्पर्धा नै चल्थ्यो। फलफूलमा जोडी पुर्याएर निबुवा, बेलौती, सुन्तला, जिमिर खोज्दै दिनभरि भोकै हिँड्दा पनि थकानको महसुस हुन्थेन। साँझ परेपछि पिताजी मेलाबाट फर्किनुहुन्थ्यो र तुलसीको मोठमा अगुल्टो पूजा गरेर “रबै पखुरिकोते, नागिधारे, चरागाउँले, घिलेगे, पसगाउँले, सिन्देली ले लुतो लैजा… लैजा…” भन्दै घरको धुरी काटेर अगुल्टो फाल्दाको त्यो आनन्द अब केवल एकादेशको कथा जस्तै भएको छ।
वनमा गाई चराउन जाँदा कापे परेका खामाखुट्टी, भलायोका पात र खर बटुलेर गोधुली साँझमा घर फर्कन्थ्यौँ। ती अबोध चौपायाहरू कति समझदार थिए भने, गोठमा पुगेपछि कसैले धकेल्नै नपर्ने, आ-आफ्नो किलो र खाँबो चिनेर आफैँ उभिन्थे। बारी जोत्दा गोरुको दायाँ र बायाँको तालमेल मिल्नुपर्ने, नत्र हली अलमलिने ती दिनहरू सम्झिँदा अचम्म लाग्छ।
मकै पोल्ने याम र दारको ठेकी
गोर्जेका खेतका फाँटहरूमा जडन धान रोपिन्थ्यो भने पाखो खेतमा मात्र पाइने रैथाने ‘पात्ले धान’ रोपिन्थ्यो, जसको बीउ हाम्रा पुर्खाले कताबाट ल्याए होलान्! चैतमा मकै, घैया र कागुनो रोपेर साउनमा भित्र्याइन्थ्यो। तर अफसोस, आज घैया र कागुनो गाउँबाट लोप भइसके। बारीमा कोदो र मकै हुन्थ्यो। साउनको दोस्रो हप्तातिर हरियो मकै अगेनामा पोलेर खाँदै, दारको काठको ठेकीमा पारेको मही ‘सननन’ पिउँदाको त्यो तृप्ति आधुनिक सुख-सुविधामा कहाँ पाइन्छ र! आज गाउँमा काठका ठेकी र बाँसको ढुङ्ग्रो (गुवा) को ठाउँमा सिल्भर र प्लास्टिकका भाँडा देख्दा मन अलिकति अमिलो हुन्छ।
दियालोको ध्वाँसोदेखि चकमकसम्म
त्यो समय पोखरा पुग्न ८-९ घण्टा हिँड्नुपर्थ्यो। हाम्रा हजुरबुबाहरू त २०१५-१६ सालतिर नुन-तेल लिन ‘बटौली’ (बुटवल) सम्म पुग्नुभएको कथा पिताजी सुनाउनुहुन्थ्यो। मट्टितेलको अभावमा टुकी बालेर पढ्दा कहिलेकाहीँ निधारको कपाल नै डढ्ने, त कति पटक रातको समयमा घरभित्र-बाहिर गर्दा दियालोको ध्वाँसोले नाकका प्वालहरू काला हुन्थे।
त्यस्तै, पटुकामा चकमक (ठोस्ने) र केराको गुभो सुकाएर बनाएको झुलो बोकेर हिँड्ने बुढापाकाहरू सम्झनामा आउँछन्। गाउँमा पछि लाल्टिन आयो र पूजाआजामा ‘मैन्टोल’ बालिन्थ्यो। पूजाको भक्तिभन्दा पनि मैन्टोलको त्यो नयाँ र उज्यालो प्रकाश हेर्न हामी केटाकेटी झुम्मिन्थ्यौँ।
अरिङ्गाल पोल्ने त्यो ‘उतुङ्गे’ उमेर
बाल्यकालका साथीहरू र नाताले भाइ-भतिज पर्ने विजय, रामजी, आनन्द, राजेन्द्र, पुष्पराज, भूपति, धुर्व, किरण, मनोज, प्रेम आदिलाई कसरी भुल्न सकिन्छ र! उमेरले भाइभतिज भए पनि त्यो उतुंगे ‘ समयमा हामी दौंतरी थियौँ। अरिङ्गाल र बारुलोको गोलो पोलेर त्यसको ‘छोरा’ (लार्भा) घिउमा भुटेर खानु, सन्ध्याकालमा निस्कने छिचिमिरा समात्नु र रात्रिको समयमा कसैलाई नसोधी बोटमै चढेर काँक्रो र सुन्तला चोरेर खानुको बेग्लै मजा थियो। यो चलन गोर्जेमा मात्र होइन, देशका धेरै गाउँमा एउटा साझा सम्झना बनेर रहेको रहेछ।
सुल्फाको धुवाँ र गोठका कथाहरू
२०४०/४१ सालतिरको कुरा हो, मलखादमा ‘कचोपात’ (सुर्ती) रोपेर, त्यसलाई सुकाएर ककट बनाउने र चिलिम वा हुक्कामा राखेर तान्ने चलन थियो। स्युरुम र कोलमराङ जस्ता जड्न धान रोप्ने ठाउँहरूमा गोठ बस्ने चलन थियो। दिनभरिको गोठको धन्दा सकेपछि बुढापाकाहरू जम्मा भएर चिलिम तान्दै सुख-दुःखका गफ गर्थे। पिताजीले पनि चिलिम तान्नुहुन्थ्यो, तर पछि जब रेडियो नेपालबाट ‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सूचना बज्न थाल्यो, उहाँले धूम्रपान त्याग्नुभयो, जसमा हामी निकै खुसी भएका थियौँ। त्यो चिलिमको धुवाँसँगै गाउँको एउटा सामाजिक सद्भाव र चौतारीको रमाइलो पनि जोडिएको थियो।
आज समय फेरियो, प्रविधि आयो। नुन र तेलका लागि घण्टौँ हिँड्नु पर्दैन, उज्यालोका लागि दियालो र मैन्टोलको आवश्यकता छैन। तर, त्यो अभावभित्र जुन आत्मियता, जुन प्राकृतिक जीवन र जुन आनन्द थियो, त्यो आजको आधुनिकतामा कताकता हराएको आभास हुन्छ। गोर्जे गाउँको त्यो माटो, आमाको हातको मकै र मही, अनि साथीभाइसँगका ती तिता-मीठा पलहरू मेरो जीवनका अनमोल सम्पत्ति हुन्, जुन कहिल्यै पुरानो हुने छैनन्।


