माघ २५, बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा सञ्चालन भएको चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८२ शनिबार सम्पन्न भएको छ। माघ २३ गतेदेखि २५ गतेसम्म चलेको प्रतियोगिता बन्दीपुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय तथा गाउँ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको हो।
प्रतियोगिता अन्तर्गत फुटबलतर्फ वडा नम्बर ६ ‘ए’ ले उपाधि जितेको छ भने भलिबलतर्फ वडा नम्बर ३ ‘ए’ विजयी भएको छ। विजेता दुवै टिमलाई नगद रु ६६ हजार ६६६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी फुटबलतर्फ वडा नम्बर २ ‘बी’ र भलिबलतर्फ वडा नम्बर ६ ‘बी’ तथा वडा नम्बर २ ‘बी’ द्वितीय भएका छन्। द्वितीय हुने टिमलाई नगद रु ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। फुटबलतर्फ वडा नम्बर ४ ‘ए’ र भलिबलतर्फ वडा नम्बर ६ ‘ए’ तृतीय भएका छन्। तृतीय हुने दुवै टिमले नगद रु १३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ भलिबलमा उत्कृष्ट स्पाइकर वडा नम्बर २ का माधव कुँवर, उत्कृष्ट सेटर वडा नम्बर ३ ‘ए’ का सुमन सुनार, उत्कृष्ट खेलाडी वडा नम्बर ३ ‘ए’ का उमेश बिक तथा हाइ स्कोरर वडा नम्बर ४ का प्रणाम थापा मगर घोषित भएका छन्। फुटबलतर्फ उत्कृष्ट गोलरक्षक वडा नम्बर ६ का अर्जुन मगर र उत्कृष्ट खेलाडी वडा नम्बर ६ का सञ्जय गुरुङ घोषित भएका थिए। सबै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको समापन कार्यक्रम गाउँ खेलकुद विकास समितिका अध्यक्ष रवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी विशिष्ट अतिथि रहनुभएको थियो। साथै शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछानेको पनि उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



