तनहुँ । नेकपा एमाले भिमाद नगरपालिका–७ वडा कमिटीको आयोजनामा भिम भैरव मोटर मार्गको मर्मत–सम्भार तथा श्रम शिविर सम्पन्न भएको छ।

वडा कमिटी अध्यक्ष सालिकराम गहतराजको अध्यक्षता तथा नगर कमिटी अध्यक्ष इमान थापाको प्रमुख आतिथ्यतामा सम्पन्न श्रम शिविरमार्फत जिर्ण अवस्थामा पुगेको भिम भैरव मोटर मार्गको मर्मत गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले भिमाददेखि स्याङ्जाको हरिनाससम्म दैनिक सयौँ सवारी साधन सञ्चालन हुने उक्त सडक जिर्ण बन्दै जाँदा पनि सरोकारवालाको पर्याप्त ध्यान नपुगेको बताए। सर्वसाधारणबाट सडक बिग्रिएको गुनासो आएपछि त्यसलाई मध्यनजर गर्दै नेकपा एमाले वडा नं. ७ कमिटीले उदाहरणीय काम गरेको उनले उल्लेख गरे।

बैठकको निर्णयअनुसार कदमबोटे, देउराली, पोखरीछाप, ठाटीठोक र हटियासम्मको सडक खण्डमा खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढ्दै गएको र आफूहरू स्वयंले पनि दैनिक आवतजावत गर्नुपर्ने भएकाले कसैको मुख ताक्नुभन्दा आफ्नै गाउँ–ठाउँ बनाउन श्रमदान गरिएको वडा कमिटीले जनाएको छ।

श्रम शिविरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य वीरबहादुर बस्याल, नगर सचिवालय सदस्य अशोक सुन्दर श्रेष्ठ, नेपाल लोकतान्त्रिक मगर संघका सदस्य जिम राना, जिल्ला सल्लाहकार शुकी नारायण श्रेष्ठ, नगर कमिटी सदस्य अमर थापा, नगर सल्लाहकार मोहनबहादुर श्रेष्ठ, वडा कमिटी सचिव श्यामकुमार श्रेष्ठ, उप–सचिव पदम थापा, कृष्णकुमारी कडेल, लेखा समिति संयोजक भविलाल पराजुली, सल्लाहकार संयोजक तुलबहादुर थापा, वडा सदस्य रञ्जना परियार, पूर्व वडा सदस्य मधुमाया विक लगायत वडा तथा टोल कमिटीका करिब ३० जना सदस्यको सहभागिता रहेको अध्यक्ष गहतराजले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।