तनहुँ, पुस २२

लायन्स क्लब अफ बेलचौतारा टाउनले शुक्लागण्डकी नगरपालिका११, साँखेस्थित आधारभूत माध्यमिक विद्यालयका ६१ जना विद्यार्थीलाई करिब ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।

क्लबकी अध्यक्ष अनिता थापा, रिजन चेयर पर्सन कमल गैह्रे लगायतको उपस्थितिमा सोमबार विद्यालयमै पुगेर स्विटर, झोला तथा अन्यशैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। क्लबकी सचिव सरस्वती पौडेल भट्टराईका अनुसार जाडो मौसमलाई लक्षित गरी सहयोग कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्थानीय समाजसेवी फुलमाया वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर थापा, प्रधानाध्यापक ज्ञाननारायण पौडेल लगायतले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल विद्यालय प्रतिको आकर्षण बढाउने बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।