लायन्स क्लब अफ तनहुँ खैरेनिटार, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स तथा लियो क्लब अफ खैरेनिटार–दुलैगौंडा मन्त्रको संयुक्त आयोजनामा क्यान्सर पीडितलाई आर्थिक सहयोग तथा खेलाडी भाइबहिनीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
शुक्लागण्डकी नगरपालिका कार्यपालिका सदस्य खिमबहादुर कुमाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम वडा नम्बर–६ स्थित कुमाल समाज भवनमा आयोजना गरिएको थियो।
कार्यक्रमका अवसरमा म्याग्दे गाउँपालिका–५ मौरीबजार निवासी क्यान्सर पीडित पदमबहादुरलाई रु. २५,४३० (पच्चीस हजार चार सय तीस रुपैयाँ) तथा शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७ निवासी क्यान्सर पीडित कुलमाया पौडेललाई रु. २३,००५ (तेईस हजार पाँच रुपैयाँ) गरी जम्मा रु. ४८,४३५ (अड्चालीस हजार चार सय पैँतीस रुपैयाँ) नगद हस्तान्तरण गरिएको थियो। साथै खेलाडी भाइबहिनीहरूका लागि रु. १८,००० (अठार हजार रुपैयाँ) बराबरको खेलकुद सामग्री समेत वितरण गरिएको थियो।
लायन्स क्लब अफ तनहुँ खैरेनिटारका अध्यक्ष सुरेन्द्र श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याबिनेट सेक्रेटरी सुजित हिराचन, जोन चेयर पर्सन प्रमोद लामिछाने, डिस्ट्रिक्ट चेयरपर्सन महेश्वर बस्नेत लगायत तीनै क्लबका लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सकी अध्यक्ष बिर्सना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संयोजक संस्थाकी सदस्य निर्मला श्रेष्ठ (सुकु) को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रजनी थापाले गर्नुभएको थियो।



