तनहुँका ऋषिङ्ग–घिरिङ्गका टारमा औद्योगिक क्षेत्र विकास गर्न इन्जिनियर न्यौपानेद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
काठमाडौं ।
तनहुँ जिल्लाका ऋषिङ्ग र घिरिङ्ग गाउँपालिकामा फैलिएका टार क्षेत्रलाई उद्योग, कलकारखाना तथा स्मार्ट भिलेजका रूपमा विकास गर्न सरकारको तर्फबाट तत्काल पहल आवश्यक रहेको भन्दै इन्जिनियर श्रीराम न्यौपानेले ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा शहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएका छन्।
न्यौपानेले पिपलटार, रुपटार, करुवाटार, अत्रौलीटार, पुट्टारलगायत ‘भर्जिन ल्यान्ड’ मानिने टारहरूलाई व्यवस्थित औद्योगिक क्षेत्रका रूपमा विकास गर्न सके ऊर्जा उत्पादन, वितरण तथा खपतमा ठूलो योगदान पुग्ने उल्लेख गरेका छन्।
उक्त ज्ञापनपत्रमा कालीगण्डकी कोरिडोर नजिकै रहेका टारहरूमा नवलपुर धौवजीस्थित फलाम स्रोतको उपयोग गर्दै स्टिल उद्योग स्थापना गर्न सकिने, जसले देशबाट वार्षिक झन्डै २ खर्ब रुपैयाँ बाहिरिनबाट रोक्न सकिने उल्लेख छ। कालीगण्डकी कोरिडोरमार्फत काठमाडौंसहित प्रमुख शहर तथा भारत–चीनसम्म छोटो दूरीमा व्यापारिक पहुँच प्राप्त हुने भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ।
यससँगै सौर्य ऊर्जा, हाइड्रोजन प्लान्ट तथा औद्योगिक ग्राम स्थापना गरेर क्षेत्रलाई समग्र रुपमा औद्योगिक हब बनाउन सकिने मत न्यौपानेले अभिव्यक्त गरेका छन्। उनले उचित व्यवस्थापनका साथ टार क्षेत्रको विकास गर्न सके देशकै अर्थतन्त्रमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
तनहुँका अलपत्र योजनाबारे पनि ध्यानाकर्षण
ज्ञापनपत्रमा तनहुँका केही अलपत्र पर्ने महत्वपूर्ण परियोजनाहरू अघि बढाउन मन्त्री घिसिङ्गको ध्यानाकर्षण गराइएको छ।
ती परियोजनामध्ये—
-
भिमाद–ऋषिङ्ग श्रृङ्गपथ,
-
घिरिङ्गको कृष्णमार्ग,
-
चितवन–तनहुँ जोड्ने घुमाउनेको पुल,
-
आँबुखैरेनी–कोत्रे खण्डमा आकाशेपुल तथा सुरक्षा व्यवस्थापन
जस्ता योजनाहरू चाँडो सम्पन्न गरिनुपर्ने उल्लेख छ।



