नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन (मङ्सिर २७–२९, काठमाडौं) का लागि प्रतिनिधि छनोट गर्दा तनहुँ क्षेत्र नं. १ मा मतगणनाका क्रममा उत्पन्न विवादपछि प्रक्रिया स्थगित भएका घटनाबारे पार्टी नेतृत्वले सर्वसम्मतिको माध्यमबाट प्रतिनिधि टुंग्याइएको जानकारी दिएको छ।
एमालेले देशभर मङ्सिर १३ गते एकैदिन प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको थियो। तनहुँ क्षेत्र नं. २ मा सर्वसम्मत सहमतिबाट प्रतिनिधि चयन भए पनि क्षेत्र नं. १ मा मतदानपछि मतगणना थालिएको थियो। तर मतगणना कै दौरान विवाद उत्पन्न भई प्रक्रिया रोकिएको थियो।
विवादपछि पार्टी नेतृत्व, उम्मेदवार र जिल्ला कमिटीबीच विस्तृत छलफल सञ्चालन गरिएको थियो। छलफलमा बन्दीपुरमा पुनः मतदानगर्ने, आंशिक मतगणना मान्यता दिने, केन्द्रीय नेताहरू समक्ष सर्वसम्मत खोज्ने लगायत विकल्पहरू प्रस्तुत गरिएको थियो। अन्ततः सबै उम्मेदवारको लिखित सहमति सहित सर्वसम्मतिको विकल्प चयन गरिएको जिल्ला कमिटी सचिव प्रदीप अधिकारीले जानकारी दिएका छन्।
उनका अनुसार, “उम्मेदवार कमरेडहरू सबैले लिखित रूपमा सहमति जनाउनुभएकोले क्षेत्र नं. १ का प्रतिनिधि सर्वसम्मत विधिबाट छनोटभएका हुन्। मतगणना स्थगित हुनुको कारणलाई आधारहीन रूपमा तोडमोड गरी कुप्रचार गर्ने कार्य अस्वीकार्य छ।”
हालसालै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मतपत्र साटफेर गर्ने प्रयास, फर्जी मत राख्ने दाबी लगायतका समाचार आएपछि नेतृत्वले ती सबै दाबी आधारहीन र भ्रामक भएको स्पष्ट पारेको छ। अधिकारीले यस्ता गतिविधिले आम कार्यकर्ता दिग्भ्रमित भएको बताउँदै सत्यतथ्य विपरीतका प्रचारप्रति आफ्नो आपत्ति जनाए।
पार्टीका अनुसार, मतगणना रोकिएपछिको अवधि अनुसन्धान र छलफलमा बिताइएको थियो र उत्पन्न विवादबारे तथ्य निबिर्को छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।
सचिव अधिकारीले कार्यकर्ताहरूलाई पार्टीको निर्णय, विधि र परम्पराप्रति सम्मानजनक व्यवहार अपनाउन आग्रह गर्दै, सामाजिक सञ्जाल मार्फत नेतृत्व र पार्टीमाथि अनावश्यक लाञ्छना नलगाउन अनुरोध गरेका छन्।



