धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ । २८ वर्षीय केशर बहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा सोही वडाका १८वर्षीय बल बहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेका छन् । प्रारम्भिक अनुसन्धानका अनुसार, शुक्रबार राति खाजा खाने क्रममाभएको आपसी विवाद चर्किएपछि बुढाको हत्या भएको हो ।
हत्यापछि मृतकको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए ।प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने शरीर घटनास्थलमै रहेको जानकारी दिएको छ ।
डीएसपी अवस्थीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । यस बीभत्स घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ ।