तनहुँ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ चुनेमुढा स्थित पृथ्वीराजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा बुबा–छोरा गम्भीर घाइते भएका छन्।

दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख १०५९ नम्बरको हाईस र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार कास्की पोखरा महानगरपालिका–३३ का १८ वर्षीय प्रवेश लामिछाने र उनका ४७ वर्षीय बुबा प्रेमराज लामिछाने घाइते भएका छन्।

दुवैको टाउकोमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारका लागि तनहुँ सेवा अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि दुवैजनालाई पोखरा स्थित मणिपाल शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुबै सवारीसाधन र हाईस चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।