तनहुँ, असोज १२
दशैंको अवसर पारेर रोट्रयाक्ट क्लब अफ दमौलीले व्यास–५ स्थित चर्चित पर्यटकीय स्थल मानुङकोटमा ‘चङ्गा चैट कार्यक्रम’ सम्पन्न गरेको छ।
चङ्गा उडाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त कार्यक्रमलाई संस्कृतिको पुनःस्थापना गर्ने र युवा पुस्ताबीच सामाजिक एकता बढाउने उद्देश्यले आयोजना गरिएको क्लबका अध्यक्ष गोविन्द तिमल्सिनाले जानकारी दिनुभयो। उनका अनुसार पछिल्ला वर्षहरूमा युवापुस्ताको चासो घट्दै जाँदा चङ्गा उडाउने संस्कार लोप हुने अवस्थामा पुगेकाले यसको निरन्तरताका लागि क्लबले हरेक वर्ष योकार्यक्रम गर्दै आएको हो।
“दशैंको माहोलमा चङ्गा उडाउँदै संस्कृति जोगाउनु मात्र होइन, आपसी सम्बन्ध मजबुत बनाउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ,” अध्यक्ष तिमल्सिनाले बताउनुभयो।
यस वर्षको चङ्गा चैटमा उत्साहजनक सहभागिता रहेको कार्यक्रम संयोजक करण नेपालीले जानकारी दिनुभयो। कार्यक्रममा स्थानीय वासी र क्लबका सदस्यहरूले चङ्गा उडाउँदै रमाइलो गर्नुका साथै दशैंको शुभकामना आदान प्रदान गरेका थिए।