दुलेगौंडा, ६ असोज

तनहुँ मिडिया नेटवर्कद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज नवौं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०७३ सालको घटस्थापनाका दिनदेखि नियमित प्रसारण सुरु गरेको रेडियोले सोमबार स्थापना दिवससँगै विजयादशमी, दिपावली, छठ पर्व–२०८२ तथा नेपाल संवत–११४६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्‍यो।

कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष शिव पौडेलले सम्पूर्ण श्रोता, विज्ञापनदाता, शेयर सदस्य तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगको अपेक्षा गरे। संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले एक दशकको यात्रा पूरा गर्न लागेकोमा खुसी व्यक्त गर्दै रेडियोलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा उपाध्यक्ष आनन्द सुन्दर श्रेष्ठ, सचिव टिकाराम श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र पौडेल, लेखा समिति सदस्य कमलचन्द्र लम्साल, सञ्चालक समिति सदस्य विर्सना श्रेष्ठ र स्टेसन मेनेजर राजन उपाध्याय लगायतले समेत स्रोता केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

रेडियोले तत्कालीन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा पत्रकारिता, साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई “पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार” वार्षिक रूपमा प्रदान गर्दै आएको छ।

गीत–संगीतका साथै रेडियोले दैनिक सात पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सरोकारका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा र व्यवसाय लक्षित कार्यक्रम प्रसारण गर्दै आएको छ। शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा र नवलपरासीलगायतका जिल्लामा सुन्न सकिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।