काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेका छन् । अन्तरिम मन्त्रिपरिषद्ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यो निर्णय लिएका हुन् ।
राष्ट्रपति कार्यालय, महाराजगञ्जले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिँदै भने, “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राति १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ ।”
यस निर्णयसँगै राष्ट्रिय सभाको वर्तमान अधिवेशन बन्द भएको छ र आगामी कार्यवाहिका लागि नयाँ कार्यक्रमको व्यवस्था गरिने राष्ट्रपति कार्यालयले जनाएको छ ।