पोखरा । नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा नियात्राकार तिलक प्रसाद पुन ‘पुर्जा’ चयन भएका छन् । समाजको रिक्त केन्द्रीय सदस्य पदमा पोखराका नियात्राकार पुर्जालाई चयन गरिएको हो ।
भदौ तेस्रो साता काठमाण्डौंमा बसेको संस्थाको केन्द्रीय समिति बैठकले उनलाई मनोनित गरेको जनाइएको छ । उनका पाँचवटा पुस्तकहरु प्रकाशित छन । जसमध्ये वस्तिभित्र र साइनो नामका पुस्तकहरु नियात्रा संग्रहहरु हुन् भने लोकलहरी (संयुक्त सम्पादन), लोक संस्कृतिका सुसेलीहरु तथा नेपाली सुरकर्मी र सिर्जना उनका प्रकाशित पुस्तक हुन् ।
उनी तीन दशकदेखि पोखरामा रहेर रिपोर्टिग र स्तम्भलेखन मार्फत पत्रकारितामा पनि सक्रिय छन् । कलासंस्कृति, साहित्य, इतिहास, समाजशास्त्र, पर्यटन, जैविक विविधता, वातावरण, भ्रमण, फोटोग्राफी र समाजसेवामा रुचि राख्ने उनका सिर्जनामा ग्रामिण जनजीवनको चित्रण पाइने गरेको छ ।
उनले पछिल्लो समय नियात्रा विधा साहित्यको लोकप्रिय विधाका रुपमा स्थापित हुँदै गएको बताए । नेपालीहरुमा घुम्ने संस्कृति विकसित हुँदै गएको भन्दै घुमेर आएपछि आफूले अनुभूत गरेको कुरालाई अभिव्यक्त गर्न पनि नियात्रा साहित्य महत्वपूर्ण माध्यम बनिरहेको उनको भनाइ छ ।
नेपालका लोकप्रिय साहित्यकारहरुले विस २०७२ सालमा नियात्रा समाज नेपालको स्थापना गरेका हुन् ।