काठमाडौं । पूर्वमन्त्री भगवती न्यौपानेले भदौ २४ गतेको आगजनीमा आफ्नो व्यक्तिगत डायरी जले पनि इमान र आस्था नजलेको बताएकी छन् । मन्त्री पदमा रहँदा निष्ठा, इमानदारी र सुधारात्मक कदमका आधारमा अघि बढेको अनुभव सार्वजनिक गर्दै उनले“आगोले इमान जल्दैन, आस्था ढल्दैन” भनेर स्पष्ट अडान प्रकट गरेकी हुन् ।
तनहुँ जिल्लाबासीलाई साक्षी राख्दै लेखिएको आफ्नो भावनात्मक अभिव्यक्तिमा न्यौपानेले मन्त्री भएलगत्तै लोभ र लाभभन्दा टाढा रहने कडा संकल्प गरेको उल्लेख गरेकी छन् । “म लोकप्रिय वा भाइरल मन्त्री बन्ने लोभमा परिनँ, दीर्घकालीन हितका लागि कठोर निर्णयगर्नुपर्छ भन्ने ठानेँ,” उनले भनेकी छन् ।
उनका अनुसार मन्त्रालयमा काम गर्ने क्रममा सरुवा प्रणालीमा पारदर्शिता ल्याउने, विचौलियातन्त्र अन्त्य गर्ने र ‘निमित्त प्रमुख प्रशासक’ प्रणाली हटाउने जस्ता ऐतिहासिक निर्णय कार्यान्वयनमा ल्याइएका थिए । “नेपालको इतिहासमै पहिलो पटक स्थानीय तहलाई निमित्तविहिन बनाउन सकेँ, यसबाट प्रणालीगत सुधारको नजीर बस्यो,” उनले लेखेकी छन् ।
न्यौपानेले निजामती सेवामा चक्रीय सरुवा प्रणाली लागू गर्ने सफ्टवेयर निर्माण, कर्मचारीतन्त्रमा देखिएका असमानता अन्त्य गर्ने जस्ता योजनालाई युद्धस्तरमा अघि बढाइएको पनि उल्लेख गरेकी छन् । तर, भदौ २४ को घटनामा आफ्ना संकल्प र अनुभव समेटिएको डायरीजलेको पीडा पनि उनले प्रकट गरेकी छन् ।
यद्यपि उनले इमान, निष्ठा र जनताप्रतिको समर्पण भने नजलेको स्पष्ट गर्दै लेखेकी छन्, “डायरी जल्यो, तर मेरो निष्ठा र इमान जलेको छैन, जनता प्रतिको समर्पण जलेको छैन।”