काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनेरेसन–जेड (Gen Z) का युवाहरूलाई सम्बोधन गर्दै विशेष खुला पत्र सार्वजनिक गरेका छन्। शिवपुरीस्थित एकान्त निवासबाट लेखिएको पत्रमा उनले आफ्नो व्यक्तिगत जीवनका पीडा, राजनीतिक अनुभव र व्यवस्थाप्रतिको अटल प्रतिबद्धता व्यक्त गरेका छन्।

ओलीले आफूलाई सन्तान नभए पनि सधैँ बच्चा–नानीहरूको न्यानो स्पर्श र हाँसोले जीवनमा आनन्द दिने गरेको स्मरण गरेका छन्। पूर्वका कठिन संघर्ष र यातनाका कारण आफ्नै सन्तान गुमाउनु परेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै उनले भने, “तर पनि ‘बा’ बन्ने रहर कहिल्यै मरेन।”

पत्रमा उनले २०५१ सालको गृहमन्त्री कार्यकाल स्मरण गर्दै आफ्नो समयमा राज्यको तर्फबाट एक गोली पनि नचलेको दाबी गरेका छन्। हिंसाको क्रूरता भोगेका कारण सधैं शान्तिको पक्षमा उभिएको ओलीले बताएका छन्। हालैका आन्दोलनमा भएको आगजनी, कार्यालय रेकर्ड जलाउने, कैदी उम्काउने घटनामा युवाहरू प्रयोग भएको उनको आरोप छ। “निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ,” उनले भने।

ओलीले व्यवस्थाको रक्षा आफ्नो जीवनको मूल उद्देश्य भएको स्पष्ट पारेका छन्। “आज तिमीहरूले आवाज उठाउन, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। यस व्यवस्थाको कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा संवेदनशील हुन जरुरी छ,” उनले पत्रमा उल्लेख गरेका छन्।

आफू ‘जिद्दी स्वभावको’ भएको स्वीकार गर्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हिस्सा भएको अडान, भगवान् राम नेपालमा जन्मिएका भन्ने धारणा, र संयुक्त राष्ट्रसंघमा नयाँ नक्सा पठाउने निर्णय त्यही जिद्दीपनका कारण सम्भव भएको बताएका छन्। “म पछाडि हटेको भए पद–प्रतिष्ठा र अन्य अवसरहरू पाउने थिएँ, तर मैले राज्य र व्यवस्थालाई प्राथमिकता दिएको छु,” उनले भने।

पत्रको अन्त्यमा प्रधानमन्त्री ओलीले पदमा बस्नु–नबस्नु आफ्नो लागि महत्त्वपूर्ण नभएको तर व्यवस्थाको रक्षा नै जीवनको ध्येय भएको पुनः दोहोर्याएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।