काठमाडौं, भदौ १९ ।
नेपाल सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिनको समय बुधबार मध्यरातिबाट सकिएको छ। अब सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई सरकारले क्रमशः बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार सूचीकरणका लागि तोकिएको अवधि सकिएपछि अब मन्त्रालयस्तरीय निर्णयमार्फत कुन सामाजिक सञ्जाललाई कहिले बन्द गर्ने भन्ने टुंगो लगाइनेछ। उनले भने, “सूचीकरणको अवधि सकिएको छ। अब सूचीकरणमा नआएकाहरुलाई बन्द गर्ने निर्णय आजै हुन्छ।”
सरकारले सामाजिक सञ्जाल नियमन गर्ने उद्देश्यले गत वर्ष निर्देशिका २०८० जारी गरेको थियो। निर्देशिकाअनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले अनिवार्य रूपमा सूचीकरण गरी अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ। साथै, तीन/तीन वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान छ।
हालसम्म टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइट सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा रहेका छन्। तर फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनजस्ता लोकप्रिय सञ्जाल सूचीकरणमा आएका छैनन्।
यसअघि टिकटकलाई तत्कालीन सरकारले बन्द गरेको थियो। तर सूचीकरणमा सहमत भएपछि पुनः सञ्चालनमा आएको हो। त्यस्तै अन्य सामाजिक सञ्जाल सूचीकरणमा नआए सरकारले चरणबद्ध रूपमा निष्क्रिय बनाउने तयारी गरेको छ।
सूचीकरण नभएका ठूला प्लेटफर्मलाई तत्काल बन्द गर्ने वा वार्ता गरेर सूचीकरणमा ल्याउने भन्ने विषयमा आज दिउँसोभित्र सरकारको निर्णय आउने अपेक्षा गरिएको छ।