काठमाडौं, भदौ १७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको अवकास उमेर हदसम्बन्धी आफुले राखेको प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा नभएको प्रष्ट पार्नुभएको छ ।
मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री न्यौपानेले छलफलकै क्रममा राखिएको प्रस्ताव कुनै एक व्यक्तिको पक्षमा नभएको बताउनुभयो ।
“बैठकमा अवकास उमेरबारे विस्तृत छलफल भयो । मैले पनि सरकारको तर्फबाट आफ्नो धारणा र प्रस्ताव राखें, तर मेरो कुनै व्यक्तिगत स्वार्थ थिएन,” मन्त्री न्यौपानेले भन्नुभयो, “कसैको स्वार्थ पूर्ति गर्ने नाममा अनुचित काम नगर्ने मेरो अठोट छ ।”
उहाँले सरकार र कर्मचारीबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने मान्यताका आधारमा कर्मचारीको मनोबल उच्च राख्ने उदेश्यले मात्र प्रस्ताव राखिएको स्पष्ट पार्नुभयो ।
मन्त्री न्यौपानेले समितिमा भएका छलफलबारे जानकारी दिँदै भन्नुभयो,
“माननीय सदस्यहरुले विभिन्न तर्क राख्नुभयो, कतिपय विषयमा समझदारी भयो । कुलिङ अफ पिरियड र अन्य प्रावधानमा पनि राष्ट्रिय सभाले सर्वसम्मत निर्णय गर्यो ।”
संघीय निजामती सेवा विधेयक यसै अधिवेशनमा पारित हुने प्रतिबद्धता गर्दै उहाँले प्रशासनिक संघीयता कार्यान्वयनमा यसले सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । “म मत विभाजन गर्ने पक्षमा छैन, प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ त्यसरी नै लैजाऔं,” उहाँले भन्नुभयो ।
समितिले अवकास उमेरसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत रूपमा टुंग्याएको छ । नयाँ व्यवस्थाअनुसार :
-
पहिलो वर्ष : ५८ वर्ष पूरा गर्ने कर्मचारी ५८ वर्षमै अवकाश,
-
दोस्रो वर्ष : ५८ वर्ष पूरा गर्ने कर्मचारी ५९ वर्षमा अवकाश,
-
तेस्रो वर्षदेखि : अवकाश उमेर ६० वर्ष लागू हुने व्यवस्था हुनेछ ।
मंगलबारकै बैठकमा समितिले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पारित गर्ने तयारी गरेको छ । उक्त प्रतिवेदन समितिकी सभापति तुलसाकुमारी दाहालले राष्ट्रिय सभामा पेस गर्ने कार्यसूची रहेको छ ।