तनहुँ, व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक 
विद्यालय र पाटन जेष्ठ नागरिक गुरुकुल आश्रममा आदित्य 
राना पौडेल स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ ।

सडक दुर्घटनामा कम उमेरमै निधन भएका आदित्य राना पौडेलको स्मृतिमा उनका परिवारका सदस्य हेम पौडेल (हजुरबुबा), उषा क्षेत्री (हजुरआमा), इन्द्र राना (बुबा), विद्या पौडेल (आमा), बिजु पौडेल (सानिआमा) तर्फबाट सो कोष स्थापना गरिएको हो।

विद्यालयमा आयोजित कार्यक्रममा परिवारले जम्मा रु. ५,०५,१६४ को अक्षय कोष हस्तान्तरण गरेको हो। सोमध्ये पराशर माध्यमिक विद्यालयका लागि रु. ४,०४,०८२ र गुरुकुल आश्रमका लागि रु. १,०१,०८२ उपलब्ध गराइएको छ।

यस कोषको ब्याजबाट विद्यालयले प्रत्येक वर्ष “आदित्य राना स्मृति कप अन्तरविद्यालय फुटबल प्रतियोगिता” आयोजना गर्ने र कक्षा १० का प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई छात्रवृत्ति दिने योजना छ। गुरुकुल आश्रममार्फत पनि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, वडा नं. ५ का निवर्तमान अध्यक्ष मोहनकुमार श्रेष्ठ लगायत जनप्रतिनिधि, संघ–संस्था, टोल विकास संस्था, आमा समूह, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो।

नगर प्रमुख न्यौपानेले पौडेल परिवारले शिक्षा र सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै स्थापित कोषले आदित्य रानाको स्मृतिलाई जीवित राख्ने विश्वास व्यक्त गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।