काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई सरकारले मासिक दुई लाख रुपैयाँसम्म तलब दिने व्यवस्था गरेको बताएका छन् ।

ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै आईटी जनशक्तिलाई उचित पारिश्रमिक उपलब्ध गराउने निर्णयले अनलाइनमार्फत सरकारी सेवा विस्तारलाई सहज र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार यस अघि सरकारी सेवामा देखिँदै आएको ढिलासुस्ती, घुस र कमिसन जस्ता प्रवृत्ति नियन्त्रण गर्न पनि यस कदमले योगदान गर्नेछ ।

“आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुई लाखसम्म तलबको व्यवस्था गरेको छ । यसले दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्नेछ र सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउनेछ,” प्रधानमन्त्री ओलीले लेखेका छन् ।

सरकारको यो निर्णयलाई आईटी क्षेत्रका विद्यार्थी तथा पेशेवरका लागि सुखद कदमका रूपमा लिएको ओलीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।