भदौ ११, काठमाडौं ।
नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा हाल अवरुद्ध दर्ता–नवीकरण प्रक्रिया तुरुन्त सुचारु नभए आन्दोलनमा उत्रने उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न संक्रमण कालीन व्यवस्था मिलाइने र छिट्टै नयाँ नियमावली ल्याइने आश्वासन दिनुभयो । मन्त्रालयकी सचिव राधिका अर्यालले पनि दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताउनुभयो ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा भएको संशोधन पछि अनलाइन सञ्चार माध्यमको दर्ता, नवीकरण र सञ्चालन प्रक्रिया अवरुद्ध भएको हो ।
ज्ञापनपत्र बुझाउने टोलीमा उपाध्यक्ष उमिद बागचन्द, सचिवहरू सोनी शर्मा र प्रकाश धौलाकोटी, केन्द्रीय सदस्यहरू रामेश्वर कार्की, उर्जुन पन्त, मनुका कुवँर, पवित्रा मुडभरी, राजकरण महतो, भुपराज बस्याल लगायत सहभागी थिए ।