पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनियुक्त उपकुलपति प्रा. डा. भरत बहादुर खत्री, डीन सह–प्रा. डा. डेविड श्रेष्ठ र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह–प्रा. डा. प्रेमराज पगेनीलाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हरिलाल आचार्य र डा. कपिल गौतमले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै, गण्डकी प्रदेश कमिटीका अध्यक्ष डिल्ली आचार्यले नवनियुक्त पदाधिकारीलाई बधाई ज्ञापन गर्दै प्रतिष्ठानका सेवा आम जनतासम्म सहज र सरल तरिकाले पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले महासंघले राम्रा कामहरूको प्रचारप्रसार गर्ने र आवश्यकताअनुसार सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनियुक्त उपकुलपति प्रा. डा. भरत बहादुर खत्रीले प्रतिष्ठानलाई देशकै अग्रणी बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै डी.एम. र एम.सि.एच. कार्यक्रम सञ्चालन गर्ने पहल भएको जानकारी दिनुभयो । साथै, प्रत्येक नागरिकले सहज रुपमा उपचार सुविधा प्राप्त गर्न सक्ने वातावरण बनाउन निरन्तर लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीका सचिव प्रितम थापाले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।