काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मन्त्रालयको जिम्मेवारी समालेको एक महिना पुगेको अवसरमा आफूले थालेका कामबारे जानकारी दिने भएकी छन्।

मन्त्री न्यौपानेले सामाजिक सञ्जालमार्फत आफूले सम्हालेको छोटो अवधिमा मन्त्रालय भित्र दीर्घकालीन प्रभाव पार्ने खालका कामको थालनी गरिएको बताएकी छन्। उहाँले लेख्नुभएको छ, “आँखा झिमिक्क गर्दा एक महिना बितेछ मैले मन्त्रालयको जिम्मेवारी समालेको। गर्नुपर्ने काम धेरै छन्, २४ घन्टाको दिन नै छोटो लाग्न थालेको छ। जनताको आकांक्षा ठूलो छ, प्रधानमन्त्रीज्यूले निरन्तर भिजन र निर्देशन दिनुहुन्छ।”

उनका अनुसार विगत एक महिनामा संघीय संसद्, प्रदेश संसद्, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, सञ्चारकर्मी, कर्मचारी, विभिन्न दलका साथी र बौद्धिक वर्गबाट निरन्तर सुझाव–सल्लाह र सहयोग प्राप्त भइरहेको छ।

“क्षणिक काममा रमाउने भन्दा पनि टिममा काम गर्ने मेरो बानी हो, सल्लाह सुझाव लिन र कुरा सुन्ने स्वभाव अहिलेको जिम्मेवारीमा फाइदाजनक भएको अनुभव भएको छ,” मन्त्री न्यौपानेले बताएकी छन्।

यसै सन्दर्भमा मन्त्री न्यौपानेले आज (आइतबार) दिउँसो ४ बजे मन्त्रालयमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै एक महिनाको कामको प्रगतिबारे जानकारी दिने कार्यक्रमको आयोजना गरिएको समेत जानकारी दिएकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।