काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा राष्ट्रपति पौडेलले भारतलाई एक मित्र तथा निकट छिमेकीका रूपमा व्याख्या गर्दै भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा भएको उल्लेखनीय प्रगतिबाट नेपाल लाभान्वित भएको तथा अझ बढी लाभ लिन चाहेको बताए। उनले भने, “एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा भारतको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ। एक मित्र एवम् छिमेकीका नाताले नेपालले लाभ पाएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ।”
राष्ट्रपति पौडेलले नेपाल–भारत सम्बन्ध शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक र आर्थिक रूपमा गहिरो रहेको उल्लेख गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान र विश्वासमा आधारित रहेको प्रष्ट पारे। साथै उनले नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको र छिमेकीहरूसँग सम्बन्ध सुदृढ बनाउन भारतले अघि सारेको “छिमेक पहिलो नीति” को प्रशंसा पनि गरे।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिअनुसार नेपाललाई भारतको प्राथमिकतामा उच्च स्थानमा राखिएको बताए। उनले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आधुनिक युगमा दुवै देशबीच प्रगति र विकासका लागि कनेक्टिविटी विस्तारबारे छलफल हुने जानकारी दिए।