काठमाडौं, साउन ३२ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले दुर्गम क्षेत्रमा सेवा दिन नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले लामो समयदेखि सुगम क्षेत्रमा बस्ने तर दुर्गममा जान नमान्नेहरुको नाम संकलन भइरहेको बताइन्। “अब ती कर्मचारीको नाम सञ्चार माध्यमलाई उपलब्ध गराइन्छ,” उनले भनिन्।
उनले लामो समयदेखि दुर्गम क्षेत्रमा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले कार्य अगाडि बढाइरहेको जानकारी दिइन्।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत (सीएओ) को काम धेरै स्थानमा निमित्तले गरिरहेको अवस्थाको अन्त्य गर्न भदौ महिनाभित्रै सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइने व्यवस्था मिलाइएको पनि मन्त्री न्यौपानेले स्पष्ट पारिन्।
“दुर्गममा जान नमान्ने कर्मचारीहरुको आर्थिक अधिकार कटौती गरेर पनि कारबाही भइरहेको छ,” उनले चेतावनी दिइन्।