काठमाडौँ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवा ऐन, २०४९ को दफा ७२क, निजामती सेवा नियमावली, २०५० को नियम ३क तथा व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ बमोजिम संघीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

मन्त्री न्यौपानेले नेपाल सरकारका विभिन्न संघीय मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई आफ्ना मातहतका निकायको व्यवस्थापन परीक्षण गरी प्रतिवेदन मन्त्रालयमा पेश गर्न तत्काल पहल गर्न आदेश दिनुभयो। सोहीअनुसार, मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र देशभरका ७५३ वटै स्थानीय तहलाई पनि व्यवस्थापन परीक्षण गर्न वा निर्देशिकाको आधारमा आवश्यक कार्यविधि तयार गर्न पत्र पठाउने निर्णय गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा १८ वटा संघीय मन्त्रालयसहित २६ वटा निकायको व्यवस्थापन परीक्षण सम्पन्न भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा ३० वटा संघीय मन्त्रालय तथा निकायको व्यवस्थापन परीक्षण गर्ने लक्ष्य मन्त्रालयको माइलस्टोनमा समावेश भएको छ।

व्यवस्थापन परीक्षणलाई सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा लिँदै मन्त्री न्यौपानेले सम्पूर्ण निकायलाई यसलाई नियमित र प्रभावकारी रूपमा लागू गर्न आह्वान गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।