तनहुँ,
महर्षि वेदव्यासको पवित्र जन्मभूमि व्यास नगरपालिकाको प्रवेश र प्रस्थान बिन्दुहरूमा स्वागत तथा विदाई बोर्डहरू स्थापना गरिएको छ।
वेदव्यास वैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानको पहलमा तयार पारिएका यी बोर्डहरू गण्डकी प्रदेशका सांसद माननीय अशोक कुमार श्रेष्ठ र व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको संयुक्त प्रयासमा आज स्थापना गरिएको हो।
नगरपालिकाको पूर्व सिमाना व्यास–१२ र बन्दीपुर गाउँपालिका–१ को सिमाना तथा पश्चिम सिमाना व्यास–५ र म्याग्दे गाउँपालिका–१को सिमानामा बोर्डहरू राखिएको हो। कार्यक्रममा सांसद श्रेष्ठ र मेयर न्यौपानेले वेदव्यासको जन्म भूमिलाई चिनाउने काममा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउँदै बोर्ड स्थापना भएकोमा खुसी व्यक्त गरे।
सो अवसरमा प्रतिष्ठानका संरक्षक ध्यानाचार्य जयश्रीहरि खेमराज अधिकारीले वेदव्यासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।