काठमाडौं, साउन २१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा अब मापदण्ड अनुसार मात्र हुने स्पष्ट पार्नुभएको छ।
प्रेस चौतारी नेपालले बुधबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरुवामा हुने बेथितिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। “यो मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्नहरु यस अघि पनि उठ्ने गरेको छ। मन्त्रालयको काम कर्मचारी सरुवा र बढुवाको मात्रै हो कि भन्ने बुझिन्छ। त्यो भ्रम तोडेर अगाडि जानुपर्छ,” मन्त्री न्यौपानेले भन्नुभयो।
उहाँले सरुवालाई पुर्वानुमान योग्य र पारदर्शी बनाउन मापदण्ड तयार गरिएको बताउनु भयो। “सरुवामा गुनासो नआउने गरी मापदण्ड बनाइएको छ,” मन्त्री न्यौपानेले स्पष्ट पार्नुभयो।
मन्त्रालयलाई चुनौतीको बिचमा सम्हालिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म उभिएको ठाउँमाथि चुनौतीको आगो बलेको छ। त्यही आगोमा उभिएर अगाडि बढ्ने हो। कसैले लोभ वा लालचमा फसाउने काम हुन दिने छैन।”
मन्त्री न्यौपानेले मन्त्रालयका ६ वटा महाशाखाबाट ब्रिफिङ लिइसकिएको र आगामी कार्ययोजनाबारे जानकारी प्राप्त भएको उल्लेख गर्दै अब कामको रफ्तार बढाइने बताउनुभयो। संघीयतालाई बलियो र स्थायी बनाउन संघीयता कार्यान्वयन भएका अन्य मुलुकहरुको अभ्यासबारे पनि अध्ययन गरिने उहाँले जानकारी दिनुभयो।
जनताको सेवामा ढिलासुस्ती र आलटाल सहन नसक्ने बताउँदै उहाँले पहिलोपटक मन्त्रालयमै गुनासो व्यवस्थापन संयन्त्र स्थापना गरिएको जानकारी दिनुभयो।
त्यसैगरी, अझै करिब १ सय स्थानीय तहले बजेट र कार्यक्रम ल्याउन नसकेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री न्यौपानेले समस्या समाधानका लागि तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरिएको र बुधबारदेखि उक्त टोलीले पालिकामा पुगेर बजेट पारित गर्न सुझाव दिने कार्य सुरु गरिसकेको जानकारी दिनुभयो।
कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डित, सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा लगायतले मन्त्री न्यौपानेलाई विभिन्न सुझाव दिएका थिए।