तनहुँ, श्रावण १७ ।
पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल, आदिकवि भानुभक्त क्याम्पस इकाइको १४औं अधिवेशन आज शनिबार क्याम्पस सेमिनार हलमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन व्यास नगरपालिकाका प्रमुख तथा नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष वैकुण्ठ न्यौपानेले गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै न्यौपानेले आदिकवि भानुभक्त क्याम्पस जस्तो सामुदायिक उच्च शैक्षिक संस्थाको भविष्य सबल र सक्षम प्राध्यापकमा निर्भर रहेको उल्लेख गर्नुभयो। उहाँले प्राध्यापकहरूले युग सुहाउँदो शिक्षण सीपको विकास र उच्चस्तरीय योग्यता वृद्धिमा जोड दिनु पर्नेमा पनि विशेष ध्यानाकर्षण गर्नुभयो।
क्याम्पस प्रमुख सह–प्राध्यापक महाप्रसाद हडखले क्याम्पसका प्राध्यापक हुनु प्रतिष्ठा र गौरवको विषय रहेको उल्लेख गर्दै प्राध्यापकहरूलाई सञ्चयकोष, उपदान कोष, नागरिक लगानी कोष, अध्ययन तथा बिरामी बिदा, शोध तथा अनुसन्धान अनुदान लगायतका सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।
कार्यक्रममा विगतमा इकाई अध्यक्ष रहेर क्याम्पस र प्राध्यापकहरूको हितमा योगदान पुर्याउनुभएका कमला मोहन वाग्लेलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। उद्घाटन सत्रको अध्यक्षता इकाईका जेष्ठ सदस्य उप–प्रा. विश्वेश्वर तिमल्सेनाले गर्नुभएको थियो।
बन्द सत्रमा इकाई सचिव उप–प्रा. सागर न्यौपाने र कोषाध्यक्ष सहायक प्रा. मिना श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगति तथा आर्थिक प्रतिवेदन संशोधन सहित पारित गरिएको थियो।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय सदस्य केशवराज काफ्ले, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका केन्द्रीय सदस्य उप–प्रा. बिमल गिरी, पूर्व अध्यक्षहरू कमला मोहन वाग्ले र सन्त तामाङ, स्ववियू अध्यक्ष अनुप आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उद्घाटन सत्र सञ्चालन इकाई सचिव उप–प्रा. सागर न्यौपानेले गर्नुभएको थियो।
अधिवेशनले उप–प्राध्यापक राजन घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ। कार्यसमितिको पदाधिकारीहरू यसप्रकार छन् :
-
उपाध्यक्ष : उप–प्रा. सागर न्यौपाने
-
सचिव : सहायक प्रा. विष्णु हडखले
-
कोषाध्यक्ष : सहायक प्रा. मिना श्रेष्ठ
-
सहसचिव : सहायक प्रा. कन्चना काफ्ले
-
सदस्यहरू : उप–प्रा. दीपा थापा, उप–प्रा. गजेन्द्र पौडेल, उप–प्रा. चिजकुमार श्रेष्ठ, उप–प्रा. बिमल खत्री, सहायक प्रा. बुद्धकुमार श्रेष्ठ, सहायक प्रा. धनबहादुर थापा अनुराग।
निर्वाचन समितिका संयोजक उप–प्रा. बिमल गिरीको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। निर्वाचन समितिमा क्याम्पसकी प्रशासकीय अधिकृत बसन्ती थापा तथा सदस्य नारायणी अधिकारीसमेत रहनुभएको थियो।
अधिवेशनमा क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूलाई होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूले खाना खाजाको सेवा उपलब्ध गराएका थिए।