पर्सा, साउन १२ ।
पर्सा जिल्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र कार्य सम्पादन सम्झौता मूल्याङ्कनमा सर्वोत्कृष्ट ठहरिएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्य सम्पादन सम्झौता कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले मूल्याङ्कन नतिजा सार्वजनिक गर्दै पर्सा प्रहरीलाई पहिलो स्थानमा घोषणा गरेका हुन्।
४० बुँदामा आधारित मूल्याङ्कन अनुसार पर्सा प्रहरीले ९०.१९५ अंक हासिल गरी प्रदेशमै पहिलो स्थान हात पारेको हो।
एसपी मिश्र पर्सामा हाजिर भएयता भन्सार छली तथा चोरी–तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण लगायतका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएका छन्।
उनको नेतृत्वमा पर्सा प्रहरीले करिब ६० करोड बराबरका भन्सार छली गरेर ल्याइएका मालसामान बरामद गरी राजस्व तथा भन्सारकार्यालयमा बुझाएको छ। साथै, विभिन्न अदालतबाट सजाय पाएका फरार १,५११ प्रतिवादीलाई पक्राउ गरी ७३ वर्ष २ महिना कैदसजाय र ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल उपर गरेको छ।
लागुऔषध नियन्त्रणतर्फ पर्सा प्रहरीले एकैपटक ३१९ केजी चरेस सहित ट्रक बरामद गरेको थियो। मिश्रको कार्यकालमा ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिमसहित विभिन्न लागुऔषध बरामद गर्दै १५३ जना कारोबारीलाई पक्राउ गरेको छ।
यस्तै, मानव बेचबिखन विरुद्ध अभियान सञ्चालन गर्दै १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरीकार्यालय पर्साले जनाएको छ।