काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशको दीर्घकालीन समृद्धिमा ऊर्जा तथा जलस्रोत क्षेत्रको योगदानलाई प्राथमिकतामा राख्दै केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा सदस्यहरुको नियुक्ति गरेको छ । राजधानीस्थित पार्टी कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटीको उपस्थितिमा चारजना सदस्यहरुलाई औपचारिक जिम्मेवारी प्रदान गरिएको हो । कार्यक्रममा विभागका विज्ञ सल्लाहकारहरु नेपाल सरकारका पूर्व सचिवत्रयहरु इ. देवेन्द्र कार्की, इ. सुशीलचन्द्र तिवारी र इ. मधु भेटुवालको समेत उपस्थिति रहको छ ।
नवनियुक्त सदस्यहरूमा वरिष्ठ इन्जिनियर तथा ऊर्जा विज्ञ इ.डा. रामहरी पौड्याल, खानेपानी तथा सरसफाइ क्षेत्रका अनुभवी इन्जिनियर तथा पूर्व सहसचिव चोक प्रसाद धिताल, पूर्व बैंकर तथा इप्पान बोर्ड सदस्य सुमन कुमारी जोशी र नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक तथा नेशनल कलेज अफ इन्जिनियरिङका सिभिल इन्जिनियरिङ्ग विभागका प्रमुख इन्जिनियर अम्बिकेश कुमार झा रहेका छन् ।
कार्यवाहक सभापति अर्यालले पार्टी सरकारको नेतृत्वमा पुग्नुअघि नै रणनीतिक नीति, कार्ययोजना र कार्यान्वयनको स्पष्ट खाका तयार पार्न आवश्यक रहेको उल्लेख गर्दै विभागले दीर्घकालीन दृष्टिकोणसहित देशको समृद्धिमा टेवा पुर्याउने गरी भूमिका खेल्नेमा आफू आशावादी रहेको बताए । उनले भने, ‘नीति निर्माणदेखि कार्यान्वयनसम्मको स्पष्ट खाका बनाउन विभागले अग्रसरता लिन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।’ महामन्त्री बुर्लाकोटीले पूर्व सचिव र अनुभवी इन्जिनियरहरूको सहभागीताले विभागका लागि ठोस निर्णय लिने बलियो आधार बन्ने विश्वास व्यक्त गर्दै दिगो समाधान र परिणाममुखी पहल अबको लक्ष्य रहेको बताए ।
विभाग प्रमुख ई. श्रीराम न्यौपानेले विभाग गठन लगत्तै चोभार गल्छी सम्बन्धी नीतिगत संवाद सुरु भइसकेको जानकारी दिँदै अब तत्कालै कार्यान्वयन गर्न सकिने पहलहरू र दीर्घकालीन नीति-निर्माणमा विभाग जुट्ने बताए । ‘ऊर्जा तथा जलस्रोतको व्यवसायिक उपयोग, वैदेशिक लगानी प्रवर्द्वन, जलवायु अनुकूलन रणनीति लगायतका विषयमा जोड दिँदै २०८४ को चुनाव पश्चातको तीन महिनाभित्र जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नका लागि आवश्यक नीति बनाउने विषयमा हामी प्रतिबद्ध छौं’ ई. न्यौपानेले भने ।
नवनियुक्त सदस्यहरुले आफ्नो जिम्मेवारीलाई नेपालको जलस्रोतको अधिकतम उपयोग गर्दै ऊर्जा सुरक्षाबाट आर्थिक समृद्धिमा रुपान्तरण गर्न रणनीतिक खाका तयार पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरूले अनुभवी विज्ञहरूको सुझावलाई समेट्दै कार्ययोग्य ब्लुप्रिन्ट तयार गर्ने र नेपालको जलस्रोत तथा ऊर्जा क्षमता उपयोगमा नयाँ दिशा दिन सकिने बताए । यस नियुक्तिबाट रास्वपाले विकासको मेरुदण्ड मानिएको ऊर्जा तथा जलस्रोतलाई केन्द्रमा राख्दै नीति-निर्माणदेखि कार्यान्वयनसम्मका पहललाई गम्भीरतापूर्वक अघि बढाउने संकेत दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।