काठमाडौं, ७ साउन ।
नेकपा एमालेको दुईदिने केन्द्रीय कमिटी बैठक मंगलबार मध्यरातमा सम्पन्न भएको छ। बैठकमा २ सय ६४ जनासदस्यको सहभागिता रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। बैठकले पार्टीको विधान संशोधनसहितमहत्वपूर्ण विषयहरूमा निर्णय गरेको छ।
गौतमका अनुसार एमालेको सदस्यता अब पुनः दुई तहको हुने भएको छ सामान्य सदस्यता र संगठित सदस्यता। यसअघि पनि यस्तो व्यवस्था रहेकोमा केही समय अघि हटाइएको थियो। बैठकले पार्टीको जिल्ला कमिटीलाई कार्यकारिणी ढाँचामै यथावत राख्ने निर्णय समेत गरेको छ।
पार्टी संरचनालाई चुस्त–दुरुस्त बनाउन केन्द्रीय कमिटीको पदाधिकारी संख्या १५, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने प्रस्ताव अघि बढाइने जानकारी दिइएको छ।
पूर्वराष्ट्रपति पार्टी सदस्य बन्दै सक्रिय राजनीतिमा फर्किन लागेको विषयमा बैठकमा निकै लामो छलफल भएको गौतमले बताएका छन्।राष्ट्रपतिजस्तो राष्ट्रिय एकता, गरिमा र संवैधानिक जिम्मेवारी बोकेको पदमा पुगेका व्यक्तिले राजनीतिक दलको कार्यकर्ता वा नेता हुनुउपयुक्त नहुने निष्कर्ष बैठकले निकालेको हो। गौतमका अनुसार “यो गलत अभ्यास र नजिर बन्ने” भन्दै केन्द्रीय कमिटीले स्पष्ट मतदिएको छ। यद्यपि सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले प्रारम्भमा असहमति जनाए पनि पछि सर्वसम्मत निर्णयमा सहमति जनाएका थिए।
बैठकले एमाले विधानमा रहेको ७० वर्ष उमेर हद र पार्टी प्रमुखका लागि दुई कार्यकालको सीमा हटाउने प्रस्तावलाई विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ। गौतमले यो व्यवस्था विशेषतः वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई ११ औं महाधिवेशनमा उम्मेदवारी दिन रोक्न कै लागि ल्याइएको जस्तो देखिएकाले, सबै नेताहरूको प्रतिस्पर्धामा समान अवसर सुनिश्चित गर्न हटाउने निर्णय भएको स्पष्ट पारे।
बैठकमा उठेका अन्य सुझावहरूलाई समेट्दै प्रदेश र स्थानीय तहका कमिटीमा छलफलका लागि पठाइने र त्यसपछि विधान महाधिवेशनमा अन्तिम निर्णय हुने जानकारी पनि दिइएको छ।