काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भनिएसँगै आज च्यासलस्थित पार्टी कार्यालयको रौनक ह्वात्तै बढेको थियो ।
दुवै पक्षका नेता कार्यकर्ताहरु चासो र चिन्तासहित कार्यालयमा बाक्लो संख्यामा भेला भएका थिए । कार्यलय प्रांगणदेखि वार्दलीसम्म भरिभराउ थियो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पार्टी कार्यालयमै थिए । निर्धारित समयमै पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय आइन् । उनलाई नेताहरुले गेटमा आएर स्वागत गरे । त्यसपछि उनलाई सोझै दोस्रो तल्लामा रहेको अध्यक्षको चेम्बरमा लगियो ।
अध्यक्ष ओली कार्यालय आइसकेका थिएनन् । पूर्वराष्ट्रपति आएको थाहा पाएपछि महासचिव शंकर पोखरेल पनि उक्लिए । ओलीको चेम्बरमा वरिष्ठ उपाध्यक्ष पोखरेल र महासचिव पोखरेल करिब आधा घन्टा भण्डारीसँग गफिए ।
त्यसपछि ओलीको इन्ट्री भयो । ओली आएपछि उनको चेम्बरबाहिर नेताहरुले संयुक्त फोटोसेसन गरे । अनि, ओली र विद्या चेम्बरभित्र पसे भने अन्य नेताहरु आआफ्नो स्थानमा फर्किए ।
ओली–विद्याको वान टु वान संवाद एक घन्टा ४० मिनेटजति चलेको थियो । वार्ता सकेर ओली र विद्या सँगसँग झरे । ओली सरासर कार्यालयबाट गाडी चढेर बाहिरिए । उनी गम्भीर मुद्रामा देखिन्थे । पत्रकारसँग कुरा गर्ने रुची देखाएनन् ।
भण्डारी भने पत्रकारलाई प्रतिक्रिया दिन तयार भइन् । तर, उनले बोल्ने क्रममा निकै होहल्ला र हुलमुल भयो । पत्रकार सम्मेलन अत्यन्तै अव्यवस्थित भएपछि भण्डारी राम्ररी बोल्न पाइनन् । उनलाई सुरक्षाकर्मीहरुले त्यहाँबाट निस्किन सुझाए । भण्डारी पनि गाडी चढेर बाहिरिइन् ।
भण्डारीले संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको समसामयिक विषयमा मात्रै कुरा भएको दाबी गरिन् ।
वान टु वान भेट सकेर बाहिरिने क्रममा दुवैको अनुहारमा मुस्कान त थियो, तर गम्भीर प्रकृतिको ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।