काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्न तयार रहेको बताएका छन् ।
शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि मुद्दाकै आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताए ।
अझै पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने नेपालको भनाइ थियो ।
जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको उनले दोहोर्याए । मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको नेपालले दाबी गरे ।
‘अहिले ममाथि प्रतिशोध साँध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पर्न सक्छन्’, उनले भने ।