पर्वत-  मनसुन भित्रिएसँगै पर्वतको उच्च पहाडी भूभाग तथा सिमसार क्षेत्रमा धान रोपाई सुरु भएको छ । गत बर्ष लामो समयसम्म खडेरी पर्दा समयमा धान रोप्न नपाएका कृषकहरू यस वर्ष भने मध्य जेठमा नै धान रोपाई सुरु गरेका छन् ।

पर्वतको कुस्मा नगरपालिका र जलजला गाउँपालिकाको क्षेत्रका कृषकहरूले धान खेती सुरु गरेका छन् । मनसुन समयमा नै भित्रिएको र केही समय ढिलाइ गरेर धान रोपाई कार्य सुरु गर्दा जनशक्तिको अभाव हुने भएकाले पनि सुरुमा नै रोपाई सुरु गरिएको कुस्मा नगरपालिका १४ का कृषक चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

पर्वतमा ७ हजार ६ सय २८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ । उच्च पहाडी, मध्य पहाडी र समथर भूभाग समेटेको पर्वतमा विशेषत पोखरेली जेठोबुढो, रैथाने एक्ले गुडुरा जातका धानहरू रोपाई गरिन्छ । गत वर्षको तथ्याङ्क अनुसार पर्वतमा २७ हजार मेक्ट्रिक्टन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।