कविता : सपना देख्ने कर

कही ठट्टा हास्य र कटाक्षहरू चलिरहे
कही मर्मराहट र आँसुहरू बलिरहे
तर पनि सुस्त सुस्त
असारे झरीझैँ धर्तीमा ओर्लिएर
खोलाहरूमा उफ्रिन मन लाग्यो
फेरि आज सपना देख्न कर लाग्यो ।

जीवन उत्सव होइन
जीवन सत्य होइन र
जीवन त्यति सुन्दर पनि छैन
तर पनि
नाकभरी सिँगान बोकी
आमाका स्तनका मुन्टाहरू
चुस्ने बालखा बन्न मन लाग्यो
फेरि आज सपना देख्न कर लाग्यो ।

छन्
लोभ काम क्रोध र ईष्र्याहरू
तैपनि मानिस बाँचेकै छन्
हँसिलो लालीमा
रङ्गीचङ्गी सिँगार भरेकै छन्
यिनै मानिसहरूका बीच
आत्मग्लानीको श्वास
सुस्तरी फेर्न मन लाग्यो
फेरि आज सपना देख्न कर लाग्यो ।

हो मभित्र कल्पनाहरू छन्
जिज्ञासाहरू छन्
नवीनतम् प्रेमहरू छन्
देवताहरूसँग तुलना गर्न मिल्ने
मसँग वरदान छ
मसँग मेरो देश छ
खै कहाँ र कहिले ??
मलाई फुर्सत मिल्छ र
म सङ्कुचित इच्छाहरूसँग बाँधिउँ
र यथार्थताको अत्यचार सहिरहूँ
र अचनाक विदेशियौँ
अहं यो मबाट हुनै सक्दैन
मलाई मातृभूमिको पाप लाग्छ
त्यसैले त पापलाई पुण्यमा बदल्न
माटोसँग कानेखुसी गर्न मन लाग्यो
फेरि आज सपना देख्न कर लाग्यो ।

नाफासँग मात्र
जीवन साट्नेहरूसँग
आज बहस गर्न मन लाग्यो
देशमा जादु फिजाउँछु भन्नेहरूको
हँस्सी उडाउन मन लाग्यो
अन्धकारका पुजारीहरूलाई
कुलमान युग पढाउन मन लाग्यो
फेरि आज सपना देख्न असाध्यै कर लाग्यो
फेरि आज सपना देख्न असाध्यै कर लाग्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस