चन्दननाथको लिंगो र जुम्लाको दसैं

देशभर आइतबार दसैंको पहिलो दिन मन्दिरमा पूजाआजा गरेर सबैले आ–आफ्नो घरमा बडादसैंलाई स्वागत गरेका छन्। घटस्थापनाको दिन राखिएको जमरा नौ दिनसम्म पूजा गरी दशमीको प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। तर, जुम्लामा भने यसको महत्त्व फरक किसिमले जोडिएको छ। दसैं र लिंगो खडा गर्ने प्रथा एक आपसमा सम्बन्धित छन्।हरेक वर्ष प्रसिद्ध मन्दिर चन्दननाथ मन्दिरमा नयाँ लिंगा खडा गरेपछि मात्र जुम्लावासीले घरमा फूलपाती भित्र्याउँछन्। स्थानीय बुज्रुकका अनुसार करिब १५औं शताब्दी अघिदेखि यो प्रचलन चल्दै आएको छ। मार्सीधानको बीउ भित्र्याएर जुम्लामा धानखेती सुरूवात गराएका बाबा चन्दननाथको पूजा गरेपछि मात्रै जुम्लावासीले अरु धार्मिक कार्य गर्छन्।कतै यकीन प्रमाण नभेटिए पनि बाबा चन्दननाथले भारतबाट धानको बीउ ल्याएर उनका पौरखशाली शिष्य लछालकृति पैकेलालाई धानखेती गर्न लगाएको मान्यता छ।

नागरिकले भगवानका रूपमा बाबा चन्दननाथको पूजा गरे पनि आधुनिक युगमा हेर्ने हो भने जुम्लामा कृषि क्रान्तिका लागि उनले खेलेको भूमिकाकै कारण उनले प्रसिद्धी कमाएको मान्न सकिन्छ। अहिले पनि केही स्थानबाट बाबा चन्दननाथको नाममा लगत संकलन हुन्छ। तर केही समय पहिलेसम्म यो जुम्लामा मात्रै नभई मुगु, हुम्ला र कालिकोटबाटसमेत आउँथ्यो। मन्दिरमा कालिकोटबाट ९६ धार्नी घ्यु, हुम्लाबाट २६ धार्नी मह आउँथ्यो। यस्तै धानखेती हुने क्षेत्रबाट धान आउँथ्यो। स्थानीय भाषामा यसलाइ शिक दिने पनि भन्छन्।वर्षमा पहिलोपटक पाकेको बाली बाबा चन्दननाथलाई छुट्याएर मात्रै घरमा प्रयोग गरिन्थ्यो। अहिले पनि कतिपय ठाउँमा यो प्रचलन कायमै छ। त्यही लगतबाट संकलित खाद्यान्नलगायत बस्तुबाट मन्दिरमा बस्ने पुजारी, भक्तजनलगायतलाई भोजन गराइने गरेको संस्कृतिविद् रमानन्द आचार्य बताउँछन्। यस्तै धान खेती नहुने क्षेत्रबाट मास, गहत, गुराँस र चौधबीस क्षेत्रबाट गहुँ आउँथ्यो।उनको यो प्रतिष्ठा र सम्मानका बीच जुम्लाको दसैं फरक बनाउन भूमिका रह्यो।जुम्लालगायत कर्णालीमा मान्ने मस्टो देवताका मन्दिरमा वर्षमा एकपटक लिंगो खडा गर्ने प्रचलन गर्छ। बाह्रभाइ मस्टो र नवदुर्गा भवानीका मन्दिरमा दसैंपछि आउने पूर्णमामै लिंगो हाल्ने चलन छ। यसरी नवदुर्गा पूजाको सुरुवात गर्ने दिनलाई अन्य क्षेत्रभन्दा फरक बनाउन बाबा चन्दननाथले एउटा अभ्यास गराएको आचार्य बताउँछन्। पश्चिम क्षेत्रका मन्दिरमा प्राय लिंगा राखिने प्रचलन रही आए पनि औपचारिक रूपमा १५औं शताब्दीमा बलिराजले सरकारी मान्यतासहित दुवै मन्दिरमा चारवटा लिंगा राख्न लगाइएको आचार्य बताउँछन्।

देशैभर दसैंको पहिलो दिन घटस्थापनाका रूपमा मनाए पनि जुम्लीवासीले लिंगो खडा गर्ने दिनका रूपमा मनाउँछन्। बाबा चन्दननाथको उपस्थितिमा जिल्लाका सबै दराखोलाका गन्यमान्यको भेला भई उनैको नामाकरण गरिएको चन्दननाथ र भैरवनाथको मन्दिरमा लिंगो खडा गर्नेबारे छलफल भयो। छलफलमा वर्षका ५२ हप्तालाई आधार मानेर ५२ हातकै लिंगो खडा गर्ने निर्धारण भयो।त्यसयता हालसम्म मन्दिरमा एक लिंगो ५२ हात लामो हाल्ने गरिएको छ। मन्दिरका लागि खडा गरिने लिंगा घटस्थापनाको १५ दिन अगाडि काटेर आश्विन कृष्णपक्षको त्रयोेदशीमा ल्याउने गरिन्छ।त्यस्तै चन्दननाथ, भैरवनाथ मन्दिरमा खडा गरिने लिंगोको टुप्पोमा राख्ने चौरी फुर्को मुगुका भोटेले दिने, टुप्पामा बेर्ने ठेटुका मुगु खत्याड, सोरु र गल्बका क्षेत्रीले दिने, नेजा र ध्वाजा बाँध्ने थाप्का ९ऊनीका डोरी० हुम्लाका भोटेले दिने तथा चन्दननाथ भैरवनाथको मन्दिरमा बली दिने बोको चौधबीसको रिनी र कुडारी तथा छिनाबाट दिने रित बसालिन्छ। मन्दिर पोत्ने रातो र सेतो माटो पनि चौधबीस दराबाटै ल्याउने गरिन्छ। लिंगो गाड्ने खाल्डो खन्न चाहिँ रिनी र छिनाकै मान्छेले मात्र पाउँछन्।हरेक वर्ष तीनवटा नयाँ र एउटा पुरानो लिंगो पूजा गरेर खडा गरिन्छ। सम्पूर्ण जिल्लावासीको सहभागीता रहन्छ। कर्मचारी, विद्यार्थी, सेना, सर्वसाधारणलगायत सबैको सहभागीतामा जंगलबाट नाप अनुसारको लिंगो ल्याएर चन्दननाथ भैरवनाथ मन्दिरमा खडा गरिन्छ। सबैभन्दा ठूलो ५२ हाते लिंगो ल्याउन जंगलमा सरकारी कर्मचारी र असीदराका २७ गाउँका क्षेत्रीसमेत जानुपर्ने भएकाले त्यसलाई पल्टनियाँ लिंगो भनिन्छ।

अर्कोलाई थपाले लिंगो भनिन्छ। यो लिंगो थपालालगायत बाहुन जातिले ल्याउने हुनाले त्यसलाई बाहुने लिंगो पनि भन्ने गरिन्छ। त्यस्तै तेस्रो लिंगोको नाम चाहिँ कमसले लिंगो राखियो। कथित दलितहरूले तेस्रो लिंगो ल्याउनुपर्ने रित चलाइएको इतिहासका जानकारहरू बताउँछन्।यसैकारण २०४६ पछि कथित तल्लो जातिका मान्छेले एक खालको आन्दोलन चलाए। ‘लिंगो ल्याउने तर मन्दिरमा पस्न नदिने हो भने लिंगो ल्याउन नजाने’ भने। त्यसपछिका दुई वर्ष उनीहरू लिंगो ल्याउन नै गएनन्। पछि लिंगोको फरकफरक नामाकरण नगरेर सबै गाउँका मान्छेसँगै गई लिंगो ल्याउने चलन चलाइयो भने हाल मन्दिर पस्न कसैलाई पनि बन्देज छैन।मन्दिरमा चारवटा लिंगा फेरिसँगै जुम्लामा दसैं औपचारिक रूपमा सुरु हुन्छ। घटस्थापनाकै दिन साँझ सबैका घरमा भर्खर पाकेको पहिलो धान ल्याएर चिउरा कुट्ने र बाबा चन्दननाथलाई चढाएर दूधमा मिसाएर न्वागी खाने चलन पनि छ। यो घरका सबैले त खान्छन् नै, त्यसबाहेक बिहे गरेर गएका छोरीको भाग पनि छुट्याइन्छ। यससँगै स्थानीय मष्टो देवताका थानमा पनि लिंगा फेर्नेक्रम निरन्तर हुन्छ। स्थानीय ढाँडथपला सामुदायिक वनको रडिखेल्ना वनबाट मात्रै मन्दिरका लागि लिंगा काटिने गरिन्छ। काटिएका लिंगा बाजागाजासहित पूजा गर्दै मन्दिर परिसरमा ल्याउने र रङरोगनपछि मात्रै खडा गरिन्छ।

गोरखा राज्यले दिएको २६ हाते लिंगो

तीन लिंगा स्थानीय मान्यताअनुसार राख्ने गरिए पनि चौथो लिंगोको इतिहास भने करिब दुईसय वर्षदेखिको हो। पश्चिमको बलियो राज्य सिञ्जा राज्य तत्कालीन राजाबहादुर शाहले ध्वस्त बनाउँदा राजा सोपान शाहीले आत्मसमर्पण गरेनन्। गोरखाले पछि पुनः जुम्लापक्षबाट आक्रमण गरिने डरका कारण जुम्ला र गोरखाबीच एक अर्कालाई आक्रमण नगर्ने सहमति भएको थियो। त्यही सहमति चन्दननाथ बाबाको मन्दिरमा साक्षी स्वरूप २६ हातको लिंगो चढाउन थालिएको हो।

यस्तै, जुम्ला राज्य गोरखासँग विलय भएपछि तत्कालीन समयमा नेपाल र तिब्बत बीचको युद्ध हुँदा हार्ने परिस्थिति देखिएपछि यहाँ रहेको सुन्दरी तोप र चन्दननाथ बाबा तिब्बतमा पुगेर तोप पड्काउँदा नेपालले जित हासिल गरेको किम्वदन्तीसमेत रहेको छ। चीनसँग युद्ध जित दिलाएकाले राज्यबाट सम्मान प्राप्त गर्दै आएको यसका जानकारहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस